यसरी आकर्षित गर्न सकिन्छ बिदेशी लगानीकर्तालाई

सोमबार, ०२ फागुन २०७३, १० : ५९
अरुणराज सुमार्गी
      शब्द  
1826 पटक पढिएको

नेपालको आर्थिक प्रगतिको बाधक तत्वमा चारवटा पक्ष छन् । आर्थिक पाटो बलियो हुन सामाजिक पाटोको सहकार्य, सोच र उपज जरुरी छ । सामाजिक पाटोलाई सघाउन नीतिगत पाटो बलियो र दुरगामी हुनु जरुरी छ ।

यी तीनवटा पाटोलाई मलजल गर्ने र संवद्र्धन गर्ने कार्यान्वयनको पाटो चुस्त र दुरुस्त हुनु जरुरी छ । हामीले हरेक विषयलाई राजनीतिसँग गाँसेर आर्थिक पाटोलाई पछि पारेका छौं ।

नेपालमा उपलब्ध भएका वस्तुलाई आत्मनिर्भरतासँग जोड्न नसकेसम्म आर्थिक सम्पन्नता प्राप्त गर्न सक्दैनौं । आफैंसँग भएका पूर्वाधारको सहज व्यवस्थापन गरेमा तथा सही निर्णयशक्ति लिएमा आर्थिक विकास हुन सक्ने रहेछ ।

आर्थिक विकास गर्नु भनेको उद्योगी–व्यवसायीलाई धनी बन्न दिनु हो भन्ने धारणा राजनीतिक दल र सरकारी निकायमा व्याप्त छ । यस्तो धारणामा परिवर्तन आउनुपर्छ । आर्थिक विकास भनेको रोजगारीको अवसर सिर्जना हुनु हो, आत्मनिर्भरता हो ।

तर, हामीले आफ्नो देशका युवाहरूलाई स्वदेशको विकासमा बाँध्न सकिरहेका छैनौं । हामी हाम्रो जनसंसाधनलाई सम्पत्ति भन्न सकिरहेका छैनौं । आज पनि हाम्रो ऐन–नियमले हाम्रो बजारलाई चाहिने उत्पादनको लागि ताकेता गरेर त्यससँग जनसंसाधनलाई जोड्ने सकेको छैन ।

बरु नेताहरू आफ्नो दलमा कसरी भीड जम्मा गर्ने भन्नेमा तल्लीन छन् । जसले जति भीड जम्मा गर्यो त्यसलाई सफलको सूचीमा राख्ने प्रवृत्तिबाट जबसम्म हामी बाहिर निस्कन सक्दैनौं तबसम्म हाम्रो आर्थिक पाटो सबल हुन सक्दैन । त्यसैले हामीले आर्थिक रूपमा सम्पन्न नेपाल बनाउन नयाँ ढंगसँग अघि बढ्नु जरुरी छ ।

उद्योग मन्त्रालयले केही बन्द उद्योग खोल्ने नीति लिँदा हामीले केही राहत महसुस गर्यौ । यो पृष्ठभूमिमा बिदेसिएकालाई आह्वान गर्न सक्ने गरी औद्योगिक नीति ल्याउनु जरुरी छ । विभिन्न देशका लगानीकर्ताहरूले आफ्नो दक्षता र सीपसहित लगानी गर्ने नीति लिएका छन् ।

उनीहरू हाम्रो जस्तो पिछडिएका देशहरूतर्फ आकर्षित भइरहेका छन् । हाम्रो समाजमा निराशाका कुरा गर्ने मात्र छैनन्, लौन नयाँ गरौं भन्नेहरू पनि निकै छन् । अमेरिकामा पाएजस्तो नोकरी र बच्चाहरूको भविष्यको सुरक्षा पाए त्यहाँ पुगेका नेपालीहरू यहाँ फर्कन तयार छन् ।

खाडी मुलुकमा गएका व्यक्तिहरूले अलिकति राम्रो अवसर पाए झनै फर्कन्छन् । उनीहरू फर्कनु भनेको पुँजी र प्रविधिसमेत भित्रिनु हो । यदि जापानमा पुगेका ६ लाख नेपालीले कमाएको रकम रोजगारी सिर्जनाका लागि २० प्रतिशत मात्र लगाउन सकेको भए वार्षिक ३ लाख रोजगारी व्यवस्था गर्न सकिन्थ्यो ।

विगत १० वर्षको जोडफल हेर्दा ३० लाखजतिले नोकरी, पेसा र व्यवसाय गरिरहेका हुने थिए । यहाँ त रेमिट्यान्सले अर्थतन्त्र धानेको छ । किनेर खाने हाम्रो बानीले हाम्रो हात उत्पादनतर्फ समेत उठ्न छाडिसक्यो ।

जापान, अमेरिका, बेलायत, कोरिया वा अन्य देशको आम्दानी भविष्यमा हाम्रो लागि श्राप बन्न पुग्नेछ । पंक्तिकारले यो लेखिरहँदा औंलामा गन्न सकिने केही गैरआवासीय नेपालीले जापान, जर्मनी, अस्टे«लियाबाट ल्याएको सीप र धनले केही मात्रामा भए पनि लगानी गरेका छन्, रोजगारी सिर्जना गरेका छन् ।

यसबाट केही हुन सक्छ भन्ने आशा गर्न सकेका छौं । तर, सबैले त्यसो गर्न सकेका छैनन् र सक्दैनन् पनि । त्यसैले यो समस्याको समाधान भनेको नीतिगत पाटोलाई सबल बनाउनु हो । नीतिगत स्थिरता र स्पष्टता हुने हो भने स्वदेशी मात्र होइन, विदेशी लगानीकर्ता पनि नेपाल आउँछन् ।

यसले रोजगारी सिर्जना गर्नुका साथै आय वितरणलाई तल्लो तहसम्म पुर्याउँछ ।हाम्रो सामाजिक क्षेत्रलाई आर्थिक पाटोसँग जोड्न युवाशक्तिलाई राजनीतिक दलको एसेट्स (सम्पत्ति) बनाउने कार्य रोक्न सक्नुपर्छ ।

त्यसलाई उत्पादनसँग जोड्न नीतिगत स्पष्टता ल्याउनु आवश्यक छ । नीतिगत स्पष्टतापछि कार्यान्वयनको पनि उत्तिकै खाँचो छ । एकपल्ट हामीले आफ्नो छातीमा हात राखी सोच्नुपर्ने बेला आएको छ । के म आफैं पनि यो देशको आर्थिक विकासको बाधक त होइन ?

जसले यस प्रश्नको उत्तर प्राप्त गर्छ, उसले समुन्नत नेपाल देख्नेछ । हिजोआज हामीले पढ्ने प्रायःजसो आर्थिक–सामाजिक लेखहरूमा कहीँ कतैबाट पनि सन्तोषको सास फेर्न सक्ने अवस्था छैन । आर्थिक कारोबारको नाममा हामी किनेर जीविकोपार्जन गर्ने बाटोभन्दा माथि उठ्न सकेका छैनौं ।

हामी आफ्नो उत्पादनमा आत्मनिर्भरतातर्फ लम्कन सकेका छैनौं । त्यसैले अब आत्मनिर्भरताका नीति लिनु जरुरी छ । हामीले हाम्रा विगतका कमजोरीको विश्लेषण गरेर अगाडि बढ्ने नयाँ सोच र अठोट लिन सक्नुपर्छ ।

यसो गर्दा हाम्रो समृद्धिलाई कसैले रोक्न सक्दैन । हामीसँग भएको शक्तिलाई कम आकलन गर्ने अनि नयाँलाई आत्मसात् गर्न नसक्ने नीति नै हाम्रो विकासको बाधक हो ।
२०४६ पछि गति लिएको निजी शिक्षा, निजी वित्तीय संस्था, जीवन बिमा, निजी यातायात सेवा आज विभिन्न कारणले ओरालो लागेको देखिन्छ ।

यसको एउटा मात्र कारण हो, संरक्षण नहुनु । स्वदेशी उद्योगको संरक्षणमा सरकार त चुकेको छ नै, साथै नागरिकमा पनि आफ्नो देशको वस्तुलाई प्राथमिकता दिनुपर्छ भन्ने सोच पलाएन । बढ्दो जमिनको मूल्य र रेमिट्यान्सबाट सबैलाई घर बनाउने चटारो छ । यसले उर्बरा जमिनलाई कंव्रिmटको जंगल बनाउँदै छ ।

अर्को हाम्रो सम्पत्ति अनुत्पादक क्षेत्रतर्फ उन्मुख भइरहेको छ । समयमा नै सोचौं, सबैको चाहना समुन्नत नेपाल हो । यसको बाधक हाम्रो परिवेश हो । यसलाई बदल्नु आजको आवश्यकता हो । त्यसो गर्न आर्थिक, सामाजिक नीतिगत पक्षमा सुधार र त्यसको कार्यान्वयन नै हो ।

(लेखक नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्
सिफारिस