सिरियामा फेरि आक्रमण गर्न सक्ने अमेरिकाको चेतावनी

आइतबार, ०२ बैशाख २०७५, ०९ : ५६
      शब्द  
125 पटक पढिएको

न्यूयोर्क । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद बैठकमा सिरियाविरुद्ध अमेरिका, बेलायत र फ्रान्सको मिसाइल आक्रमणको भर्त्सनाका लागि समर्थन जुटाउने रुसको प्रयास विफल भएको छ । सिरियामाथि यी तीन राष्ट्रले गरेको आक्रमणलाई रुसले गुण्डागर्दीको संज्ञा दिंदै यसको विरोधमा सुरक्षा परिषदको आपतकालीन बैठकमा समर्थन जुटाउन रुस असफल भएको हो । सिरियामा रसायनिक आक्रमणको जाँच चलिरहेको बेला तीन राष्ट्रले सिरियाको सरकारी अखडामा गरेको आक्रमण अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन भएको रुसको ठहर छ ।

उता, अमेरिकाले भने सिरियामा रसायनिक हतियार प्रयोग रोक्न सिरियामाथि फेरि आक्रमण गर्न तयार गरेको जनाएको छ । राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले सिरियाका राष्ट्रपति बसर अल असदलाई अब कुनै पनि हालतमा सिरियामा रसायनिक हतियार प्रयोग गर्ने अधिकार नभएको भन्दै यसमा रोक लगाइने बताइन् । सोही बैठकमा सिरियाली राजदूत बसर जाफरीले अमेरिका, बेलायत र फ्रान्सले अन्तर्राष्ट्रिय मापदण्ड विपरित आफनो देशमा आक्रमण गरेको भन्दै आपत्ति जनाए ।

यसअघि, अमेरिका, बेलायत र फ्रान्सले सिरियाको राजधानी दमस्कस र त्यस वरिपरिको क्षेत्रका सरकारी भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । यता, चीनले पनि हवाई आक्रमणको विरोध गर्दै सिरियाको समस्या सैन्य हस्तक्षेपबाट ननिस्कने प्रतिक्रिया दिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्