खानेपानी तथा ढलमा तेजराजको तेज कार्य, विभागको छवि नै बदलिदै

शनिबार, ०१ बैशाख २०७५, ०९ : १६
      शब्द  
1296 पटक पढिएको

काठमाडौं । खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टको अहिले सवैतिर चर्चा छ । कारण उनको क्षमता, कार्यशैली र कुशल व्यवस्थापन नै हो । भट्टको चर्चा मेलम्ची खानेपानी आयोजनालाई सम्पन्न गरेकाले मात्रै होइन देशभरको खानेपानी विकास, विस्तार र वितरण व्यवस्थापन मुख्य हो ।

तत्कालीन नेकपा माओवादी केन्द्रका नेता डा. बाबुराम भट्टराईको प्रधानमन्त्री कालमा उप–महानिर्देशकमा नियुक्त भएका खानेपानी तथा ढल निकास विभागका महानिर्देशक भट्ट दोस्रो पटक माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारको पालामा महानिर्देशक बने ।

कांंग्रेस र माओवादी केन्दको संयुक्त सरकारमा यथावत रहेका उनी निर्वाचनपछिको अन्तिमतिर खानेपानी मन्त्री बनेका महेन्द्र यादवले  कांग्रेस निकट एक उप–महानिर्देशकबाट पैसा लिई सरुवाका लागि टिप्पणी उठाउन आदेश दिँदा समेत तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले भट्ट सुदुरपश्चिमकै सक्षम प्रशासक भएको भन्दै यथावत राख्न ठाडो निर्देशन दिएका थिए ।

स्वच्छ कार्यशैलीकै कारण उनलाई हाल वाम गठबन्धनको सरकारले महानिर्देशकमा निरन्तरता गर्ने निर्णय गरिसकेको छ । कांग्रेस निकट केही कर्मचारीको उस्काहटमा तत्कालिन विवादित खानेपानी मन्त्री प्रेमबहादुर सिंहले उनलाई मेलम्ची आयोजना निर्देशनालयको प्रमुखबाट जबरजस्त मन्त्रालयमा ताने ।

तर, मन्त्रालयमा समेत कामको उत्कृष्ट मुल्याङकन भएपछि भट्टलाई पुनः महानिर्देशक हुनु अगाडी भ्याली बोर्डको अध्यक्षमा नियुक्त गरियो । दश वर्षसम्म मन्त्रालयमा बसेर काम गर्ने सरकारी कर्मचारी पनि उनी नै पर्छन् । कांग्रेस नेतृत्वको सरकारबाट निकै पेलिए ।

जब बाबुराम प्रधानमन्त्री तब उनको कामको सहि मुल्यांकन हुन पुग्यो । जसरी विद्युत प्राधिकरणमा कांग्रेस सरकारले वर्षौ कुलमान घिसिङलाई मन्त्रालयमा धन्कायो त्यस्तै मारमा भट्ट पनि परेका हुन् । प्रचण्ड प्रधानमन्त्री भएपछि भट्ट र  घिसिङले अवसर पाए । आज दुवैले काममा कमि देखाएका छैनन् ।  

महानिर्देशक भट्टले नेपालभर खानेपानीको व्यवस्थापन चुस्तदुरुस्त गरेकाले अर्थ मन्त्रालयले समेत खानेपानी बिभागलाई भारी बजेट थपिदियो । भ्याली बोर्ड अन्तर्गत खानेपानीका कार्यालय, खानेपानी संस्थान, मेलम्ची आयोजना निर्देशनालय र नगरपालिकाको खानेपानी व्यवस्थापन जस्ता महत्वपुर्ण काम पर्दछ ।

त्यसकारण पनि बोर्डमा सक्षम र विश्वासिलो व्यक्तिलाई पठाइन्छ । ठुलो बजेट हुने भएकाले विश्वासको कारण भट्टलाई हालसम्म पनि सो पदमा निरन्तर गरिदै आएको छ। भ्याली बोर्डको अध्यक्ष यसअघि खानेपानी मन्त्रालयका सचिव रहने व्यवस्था भएपनि पहिलो पटक कामको तेजका कारण तेजराम भट्टलाई नै यस्तो महत्वपुर्ण नियुक्त दिईएको थियो ।

मेलम्चीको पाईपलाइन विस्तारमा प्रशंसायोग्य काम गरेपछि भट्टलाई सो पदमा यथावत राखिएको बोर्ड सदस्यहरु नै बताउँछन् । भट्टको सक्रियताले नेपालभर खानेपानी बितरण कार्यले तिब्रता पाईरहेको छ । दुर्गम जिल्लामा समेत खानीपानी व्यवस्थापनको काम उनले कुशलता पूर्वक सम्पन्न  गरिरहेका छन् ।

भट्टको महत्वकांक्षी योजना निकै छन् । सुख्खा क्षेत्र, चुरेभावर क्षेत्र, तराईका ठुला नदि व्यवस्थापन गरि पिउन योग्य पानी वितरण कार्यले तिव्रता पाइरहेको छ । सुख्खा क्षेत्र र पानी नभएको क्षेत्रमा ८ वटा जलाशययुक्त आयोजना बनाउने कार्यलाई समेत उनले निकै मेहेनतका साथ अघि बढाईरहेका छन् ।

नदि नाला ताल, शहरका नदिलाई ढलमुक्त बनाई स्वच्छ र शुद्ध पानी बगाउने उनको अर्को महत्वपुर्ण योजना छ । त्यसको थालनी पनि भइसकेको छ । तराई मधेशमा रहेको आर्यानिक न्यूनिकरणको काम पहिलो पटक भट्टकै पालामा सूरुवात भएको हो ।

भट्टकै पालामा जिल्ला सदरमुकाम र मुख्य सहरहरुमा गरि १०७ वटा ट्रिमेन्ट ल्पान्टसहितका ठुला प्रणालीको काम पनि सुरु भइसकेको छ । उनकै नेतृत्वमा खानेपानी गुणस्तर र सुधार र व्यवस्थाका लागि ७२ वटा योजना अघि बढिसकेका छन् ।

यत्तिमात्र होइन भट्टकै नेतृत्वमा ७५ मध्ये ५० जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरि सकिएको छ । २५ शहरी जिल्लालाई भने २०७५ सम्म पुरा गर्ने योजना छ । यसलाई  राष्ट्रिय पर्वकै रुप दिएर  राष्ट्रपतिको उपस्थितिमा टुडिखेलबाट घोषणा गरिने तयारी रहेको उनले बताए । 

उनी भन्छन्, म राम्रो कुरा सवैको सुन्छु, नराम्रो कुरा वुझछु, सायद त्यही नै हो योजना पुरा गर्न मेरो सफलता  ।

भारत सरकारलाई समेत यो काम गर्न हम्मेहम्मे परेको बेला नेपाललाई नै खुल्ला दिसामुक्त देश घोषणा गर्ने लक्ष्य  लिएको छु र त्यो पुरा गरेरै छोड्ने उनको अठोट छ । सुदुरपश्चिमको सम्पन्न परिवारमा जन्मिएका भट्टले देश र जनताको सेवा गर्ने र सुदुरपश्चिमकै पहिलो मुख्य–सचिव बन्ने लक्ष्य लिएका छन् ।

सबै दलले मन पराएका व्यक्ति उनी मुख्य रुपमा माओवादी केन्द्र सरकारमा रहेको बेला सरकारबाट राम्रै साथ पाए । भक्तपुर क्षेत्रमा खानेपानीको काम निकै राम्रोसँग सम्पन्नपछि सो क्षेत्रका जनताले मात्र होइन सभाषद् महेश बस्नेतले समेत सम्मान गरेका थिए । एमाले नेता झलनाथ खनाल, अध्यक्ष केपी शर्मा ओली, एवं राष्ट्रपति विद्या भण्डारीको पनि भट्टले विश्वास जितेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सिफारिस