श्रृंखलाले पहिरिईन मिस नेपालको ताज

बिहिबार, २९ चैत २०७४, ०९ : ५४
      शब्द  
204 पटक पढिएको

काठमाडौं।  मिस नेपाल– २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् । हिडन ट्रेजरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को अन्तिम चरणमा हेटौंडाकी २२ वर्षीया खतिवडाले उपाधि जितेकी हुन् । प्रतियोगितामा सहभागी अन्य २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधी जितेकी हुन् ।

ग्रान्ड फिनालेमा गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए । खतिवडाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल, मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्य र मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितेका छन् । 

२२ बर्षीया शृंखलाले मिस नेपालको मुख्य उपाधिसँगै उत्कृष्ट कपाल र उत्कृष्ट फेसन विधामा पनि पुरस्कार हात पारेकी छिन् ।  इन्जिनरिङकी विद्यार्थी श्रृंखला बौद्धिक रुपमा तेज छिन् । उनी सामाजिक काम र पर्यटनमा पनि उत्तिकै रुचि राख्छिन् । श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन् । शृंखला मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् । उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्