राजीनामा दिएका रमेश खरेललाई पूर्वगृहमन्त्री शर्माले दिए यस्तो सुझाव

बुधबार, २८ चैत २०७४, ११ : ३५
      शब्द  
470 पटक पढिएको

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भए । आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए ।

तर कतिपयले खनालभन्दा खरेल योग्य भएकाले उनलाई आइजिपी बनाउनुपर्ने तर्क गरेका छन् । यद्यपी खनाल पनि सफल व्यक्ति हुन भन्नेमा आशंका भने छैन ।

डीआईजीमा बढुवा भएको ८ महिना मात्र भएकाले नयाँ कार्यसम्पादन मूल्यांकन समेत तयार हुन सकेको थिएन । प्रहरी नियमावलीमा एक वर्षको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था छ ।

कार्यसम्पादन मूल्याङ्क बिना नै आइजिपी तोकिएकाले पनि कतिपयले आशंका गरेका हुन् ।

यससम्बन्धमा पूर्व गृहमन्त्री जनार्दन शर्माले भने सरकारले नियम र प्रक्रियाअनुसार उचित निर्णय गरेको बताएका छन् ।

यसैबिच नेपाल प्रहरीको महानिरीक्षक पदका अर्का प्रमुख दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिने भएका छन् । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि असन्तुष्ट बनेका खरेलले राजिनामा दिने तयारी गरेका हुन् ।

पूर्व गृहमन्त्री शर्माले भने विधि र प्रक्रियाअनुसार भएको निर्णयलाई अन्याथा मान्न नहुने बताए ।

शर्माले पहिलो नम्बरमा भएकालाई नै नियुक्ति गरिएकाले अरु प्रतिस्पर्धीले राष्ट्रलाई सेवा गर्नै नमिल्ने वा नपाउने भन्ने नहुने तर्क गरे ।

“राजिनामा दिनैपर्ने कुरा छैन । खरेलजी पनि असल व्यक्तिमध्येकै हो । उहाँले पनि यो अवस्थामा सरकारको निर्णयलाई सहज रुपमा लिएर आफ्नो काम गर्नुपर्छ ।” शर्माले भने ।

 

प्रतिक्रिया दिनुहोस्