दश दिनभित्रै पार्टी एकता गरिसक्ने एमाले-माओवादीको तयारी, यस्तो बन्दैछ एकीकृत कम्युनिस्ट पार्टीको संरचना

आइतबार, ११ चैत २०७४, १० : ५९
      शब्द  
412 पटक पढिएको

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले आगामि १० दिनभित्र पार्टी एकता प्रक्रिया टुङ्याउने तयारी गरेका छन् । पार्टी एकता कार्यदलले पनि सोहि अनुरुप बाँकी काम टुङ्याउन जुटेको छ । यही चैत २३ गते हुने आफ्नो भारत भ्रमण अगावै पार्टी एकतालाई मुर्त रुप दिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले निर्देशन शनिबार मातहतका कमिटिलाई निर्देशन दिएका थिए ।

एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि ‘पुच्छर’ हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको छ । एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् ।

‘मिल्दाजुल्दा नाम भएका जनसंगठनका नामको पुच्छर हटाएर छोटो बनाउने, महासंघीय ढाँचामा रहेका पेसागत संगठनहरूलाई एउटै जनसंगठन बनाउने समझदारी भएको छ,’ विधान मस्यौदा कार्यदलका एक सदस्यले भने ।

एकीकृत पार्टीको केन्द्रीय कमिटी तीन सयदेखि साढे तीन सय सदस्यसम्मको बन्ने भएको छ । एमालेका २०६ र माओवादीका ९९ सदस्यलाई एकीकृत पार्टीमा समेट्ने विषयमा नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको छ । यद्यपि, दुवै पार्टीबाट थप केही नेताहरू समेटेर बढीमा ३५० सदस्यसम्मको केन्द्रीय कमिटी बनाउने तयारी छ ।

एकीकृत पार्टीको पोलिटब्युरोमा भने सयको हाराहारीमा सदस्य रहनेछन् । केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् औसतमा सयजनाको पोलिटब्युरो बनाउने तयारी छ ।

स्थायी समिति भने ३५ जनासम्मको बनाउने गरी छलफल चलिरहेको नेताहरूले बताए । यो पोलिटब्युरोको एकतिहाइ संख्या हो । तर, यो संख्यामा केही तलमाथि हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्