करोड पटक हेरियो ‘मंगलम’ गीत, केक काटेर सेलिब्रेसन

बिहिबार, २४ फागुन २०७४, ०८ : ००
      शब्द  
118 पटक पढिएको

काठमाडौं । केही वर्ष अगाडिसम्म लाख 'भ्यू' नपुग्ने नेपाली फिल्मका गीतसंगीत पछिल्लो समय युट्युबमा करोड भ्यूअर्स पनि सामान्य बन्दै गएको छ । यस्तैमा फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु’ बोलको गीतलाई पनि युट्युबमा करोड पटक हेरिएको छ ।
 
युट्युबमा सार्वजनिक भएको ६ महिनामा यो गीतले करोड भ्यू पाएको हो । गीत रिलिजको क्रममा फिल्मको प्रदर्शन मिति भने असोज ११ गतेलाई पक्का गरिएको थियो । लोक लयको गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर छ भने दिपक शर्माको शब्द-संगीत सुन्न सकिन्छ ।

शिल्पा पोखरेल र पुष्प खड्का छमछम नाचेको गीतको भिडियाका कोरियोग्राफर कविराज गहतराज हुन् । बुधवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले युट्युबमा गीतलाई करोड पटक हेरिएको अवससरमा केक काटेर सेलिब्रेसन गर्‍यो ।  गीत संगीत उत्कृष्ट भएकै कारण धेरै फिल्मले बिजनेशमा बाजी मारेको रेकर्ड फिल्म क्षेत्रमा छ । 'नाई नभन्नु ल' का संस्करणदेखि 'छक्का पन्जा २' सम्म पछिल्ला उदाहरण हुन् । त्यसैले पनि ‘मंगलम’को व्यापारिक सफलताको लागि यो गीतले ठूलो अर्थ राखेको छ ।
 
नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा शिल्पा र पुष्पका अलावा पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायाँकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सिफारिस