दुई कोरियाको सम्बन्धमा अमेरिकाको शंका

बुधबार, २३ फागुन २०७४, ०७ : ५१
      शब्द  
129 पटक पढिएको

काठमाडौं । उत्तर र दक्षिण कोरियाबिचको सम्बन्धमा सन् २०१८ लागेसँगै सुधार हुन थालेकोमा अहिले चिसो सम्बन्ध न्यायो बने जस्तो देखिएको छ । न्यानो बन्दै गरेको दुई छिमेकी त्यसमा पनि दाजुभाइ जस्ता देशको सम्बन्धले विश्व समूदायमा अब तनाव अन्त्य हुन्छ कि भन्ने आश पलाएको छ । तर यो सम्भावनाको ढोकासँगै आशंकाको अर्को ढोका पनि देखिएको छ ।

दुई कोरियाबिचको सम्बन्धमा जहिले एकको पक्षमा उभिने अमेरिकाले पछिल्लो समय उत्तर र दक्षिण कोरियाबिच भइरहेका वार्ता तथा छलफलप्रति शंका व्यक्त गरेको छ । सोमबार दक्षिण कोरियाका प्रतिनिधि उत्तर कोरिया गए । त्यहाँ दुई पक्षका प्रतिनिधिबिच वार्ता मात्रै भएन नेता किम जोङ–उनले दक्षिण कोरियाली टिमका लागि डिनर नै दिए । त्यसले स्पष्ट शंकेत गर्‍यो कि दुई कोरियाबिचको सम्बन्धमा साँच्चिकै सुधार आएको छ ।

त्यो भन्दा पनि अघि बढेर त्यसपछि खबर आयो आउँदो महिना हुने एक सम्मेलनको क्रममा दुई कोरियाका शीर्ष नेताबिच भेटवार्ता हुने सहमति भएको । सन् २०११ मा किमले सत्ता सम्हाले यता उत्तर र दक्षिण कोरियाबिच हुन लागेको यो पहिलो र सबैभन्दा ठूलो वार्ता हो । उत्तरका नेता किम र दक्षिणका राष्ट्रपति मुन जे–इनबिच वार्ता हुने कुरा आएको हो ।

यस्तै आफ्नो परमाणु कार्यक्रमका कारण अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्दै आएको उत्तर कोरिया आफ्नो सुरक्षामा खतरा नहुने विश्वास भएमा आणविक हतियार उत्पादन बन्द गर्न तयार रहेको खबर पनि आएको छ ।

ट्रम्पलाई विश्वास भन्दा शंका

यहि कुरामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले सावधानीपूर्ण र शंकासहितको प्रतिक्रिया दिएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर र दक्षिण कोरियाबिचको वार्ता सकारात्मक रहेको कुरा आउनु निकै सकारात्मक रहेको तर यो झुटो आश मात्रै बन्न सक्ने बताएका हुन् ।

दक्षिण कोरियाले उत्तरका नेता किम अमेरिकासँग पनि वार्ता गर्न तयार रहेको बताएका छन् । तर उत्तर कोरियाले भने यसमा केही प्रतिक्रिया दिएको छैन । ट्रम्पले दुई कोरियाबिचको सम्बन्ध सुधार हुनु उनीहरुका लागि मात्रै नभएर विश्व समुदायकै लागि ठूलो खुशीको कुरा रहेको तर विगतका अनुभवले अहिले नै उत्साहित हुनुपर्ने तथा विश्वास गरिहाल्ने अवस्था नरहेको बताएका छन् ।

किमको चाहना

सोमबार दक्षिण कोरियाका प्रतिनिधिसँगको भेटपछि मंगलबार उत्तर कोरियाका नेता किम जोङ–उनले दक्षिण कोरियासँग पुनः एकीकरण गरेर राष्ट्रिय एकीकरणको नयाँ इतिहास लेख्न चाहेको बताएका थिए ।

नेता किमले दक्षिण कोरियाका प्रतिनिधिको भ्रमणले दुई देशबिचको सम्बन्ध र एकीकरणको प्रयासमा ठूलो महत्व राख्ने बताएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।

सिओलबाट आधिकारिक रुपमा उत्तर कोरिया पुगेका प्रतिनिधिसँग किमले आफू सत्तामा आएयता पहिलोपटक भेटेका हुन् । दुई कोरियाबिचको सम्बन्ध पछिल्लो समय न्यानो बन्दै गएको छ ।

यसको श्रेय गएको महिना दक्षिण कोरियाको प्योङच्याङमा भएको विन्टर (शीतकालीन) ओलम्पिकलाई जान्छ । यो ओलम्पिकमा दुई कोरिया साझा झण्डामुनि आएका थिए । त्यसका लागि जनवरीको ९ मा पछिल्लो दुई वर्षमा पहिलो पटक दुई कोरियाका उच्च अधिकारीबिच वार्ता भएको थियो । त्यसले सम्बन्ध सुधारको आधार तय गरेको थियो ।

–बिबिसी र रोयर्टसको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्