राजाको भोगविलासी चरित्रले निम्त्याएको बबन्डर

बुधबार, १६ फागुन २०७४, १७ : २५
      शब्द  
212 पटक पढिएको

काठमाडौं । रुवाइ र संवादसँगै पर्दा खुल्छ। सुसारे शर्मिष्ठाले आफूलाई प्रहार गरेका अपशब्द सहन गाह्रो परेको गुनासो अर्की सुसारे स्वर्णलताले रुँदै रानी देवयानीलाई सुनाउँछे। यही दृश्यबाट सुरु हुन्छ शिल्पी थिएटरमा मञ्चन भइरहेको पौराणिक नाट ‘ययाति’।

महाभारतको कथाका विश्वविजेता राजा ययातिको भोगविलासी चरित्रले निम्त्याएको बबन्डर नै यो नाटकको मुख्य विषय हो।

ययातिले गुरु शुक्राचार्यबाट सञ्जीवनी वरदान पाएका थिए। त्यही वरदानको दुरुपयोग गर्दै उनी रातदिन धेरै श्रीमती र सुसारेहरूसँग भोगविलासमा समय बिताउँछन्। राजा ययाति, उनले भोगविलासको सम्बन्ध स्थापना गरेकी सुसारे शर्मिष्ठा र यसबाट तनावमा परेकी रानी देवयानीबीचको कलहले दरबारमा कसैलाई शान्ति छैन।

शर्मिष्ठा असुर कुलकी हो र ऊ जे चाह्यो त्यही गर्न सक्छे। उसले राजा ययातिलाई आफ्नो तर्कद्वारा वशमा पारेकी छे। राजा ययातिले भर्खरै मात्र शर्मिष्ठाको दाहिने हात समातेको छ। आफ्नै सुसारेसँग राजाको सम्बन्धबाट दिक्क भएकी महारानीले दरबार छाडेकी छ।

राजा ययाति भोगविलास र मोहमायाको प्रतिनिधि पात्र हो। भोगविलासमा डुबिरहने र सम्राट् पनि भइरहने चाहना छ उसमा। अर्कोतिर उसैको छोरो पुरु छ, जो भर्खरै विवाहबन्धनमा बाँधिएको छ, तर वैराग्यको चाहना राख्छ। विवाहको १५ दिनपछि नवविवाहिता पत्नी चित्रलेखासँग ऊ पहिलोपटक अन्तपुर दरबार प्रवेश गर्दैछ।

चित्रलेखा सुन्दरी छे र विदुषी पनि हो। तर, आफ्ना बाबुभन्दा ठीक विपरीत पुरुराज श्रीमतीप्रति कुनै आशक्ति राख्दैन। यौवनप्रति पनि उसको कुनै मोह छैन। पुर्खाको वीरतामा गर्व गर्दैन, बरु अत्यन्तै घृणा गर्छ। ऊ स्वतन्त्रता चाहन्छ। भर्खरै सुन्दरी कन्यासँग विवाहबन्धनमा बाँधिएको ऊ आफ्ना पिताको भागमा परेको श्राप ग्रहण गरेर वृद्घ हुन पनि तयार छ।

गोठाले नाटकघरमा मञ्चन भइरहेको यो नाटक प्रसिद्ध भारतीय नाटककार गिरीश कर्नाडले लेखेका हुन्। प्रज्ञा थिएटरले प्रस्तुत गरेको नाटकको निर्देशन टंक चौलागार्इंले गरेका छन्।

वास्तवमा ‘ययाति’ राजा ययातिको भोगी चरित्र र उनकै छोरा पुरुको बैरागी चरित्रबीचको संघर्षको कथा हो। सफल चलचित्र निर्देशक र अभिनेता रहिसकेका भारतीय नाटककार गिरिश कर्नाडले महाभारतको प्रसंगबाट झिकेको यो कथामा पौराणिक प्रसंग पनि थपेका छन्। नागमण्डला, ययातिजस्ता १० नाटकका रचनाकार कर्नाडका इकबाल, गोधूलि, स्वामी, उत्सवजस्ता फिल्म पनि सफल मानिन्छन्।

ययातिको सांसारिक जीवनमोह, यौवनप्रतिको अतिशय कामना, दिग्विजय, यौनभोग, आदिबारे पुराणहरूमा फरकफरक तरिकाले चर्चा गरेको पाइन्छ। नाटकमा सम्राट् ययातिले सुसारे शर्मिष्ठालाई रानी बनाउने घोषणा गरेपछि महारानी देवयानीसँग तर्कवितर्क चल्छ। उनले केही गरे पनि शर्मिष्ठालाई नछाड्ने घोषणा गर्छन्। महारानी गलाको मंगलसूत्र फालेर दरबारबाट बाहिरिन्छे।

त्यसलगत्तै पुरुराज दरबारमा प्रवेश गर्छन्। पुरु र ययातिको कुराकानी चलेकै बखत शर्मिष्ठा मञ्चमा देखा पर्छे। उसैले खबर सुनाउँछे, देवयानीका पिता दैत्यगुरु शुक्राचार्यले ययातिलाई आज साँझको घाम अस्ताउँदासम्म वृद्घ भइसक्ने श्राप दिएका छन्। तर, कुनै जवान युवकले त्यो बुढ्यौली लिइदिए ययातिले यो श्रापबाट मुक्ति पाउने श्रापको अर्को विशेषता छ। यो खबर सुनेपछि ययाति बर्बराउन थाल्छ।

उफ्
म नरहेको एकैछिनपछि के के के के हुन थाल्दछ

पवन कसलाई स्पर्श गर्न आउँदो हो

फूल कुन दिशा भएर फुल्छ होला

आफन्तका अनुहारमा कस्तो संगीत बज्दो हो

विजयका रंगहरू आफ्नो भाग्यमा पारेर

पराजय छोडिदेला कसैले

म नरहेको एकै छिनपछि

कुन आँखाले देख्लान् मेरा सपनाहरू

कसले भोग्ला रहलपहल यौवन

कसरी थामिएलान मेरो विरासत।

उफ्।

भोगविलासमा लिप्त रहने पुरुषका लागि यौवन नै खोसिने र तुरुन्तै वृद्ध हुने श्राप कष्टकर हुने नै भयो। त्यही श्राप लिइदिने छोरा पुरुको घोषणासँगै नाटकले वियोगको मोड लिन्छ। वास्तवमा नाटकले भोगी चरित्रको दर्दनाक परिणामतर्फ संकेत गरेको छ।

चौलागाईंले यसअघि भीष्म सहनीको नाटक ‘माधवी’ निर्देशन गरेका थिए। हाउसफुल चलेको ‘माधवी’ले धेरै दर्शकको माया पनि पाएको थियो। यो नाटक पनि पौराणिक पात्र माधवीकै कथामा आधारित थियो। फेरि अर्को पौराणिक कथामा उनको ध्यान किन गयो त ? चौलागाईं भन्छन्, ‘पौराणिक कथाका पात्र र चरित्र अहिलेको समयमा पनि उस्तै छन् र समाजमा अनगिन्ती छन्। शक्ति र सत्ताका लागि आजका मान्छे पनि जस्तोसुकै मूल्य चुकाउन पछि पर्दैनन्।’

नाटकमा ययातिको भूमिका घिमिरे युवराजले गरेका छन्। उनले ययातिको भोगी र स्वार्थी चरित्रको जीवन्त अभिनय गरेका छन्। १८ वर्षअघि ‘कुमारी’ नाटक खेलेर अभिनय यात्रा सुरु गरेका घिमिरेले हालसम्म करिब दुई दर्जन नाटकमा अभिनय गरिसकेका छन्। कोमा, पिल्लर सब सोसाइटी, छिरिएका साँझहरू, मजिपा लाखे लगायतका १५ भन्दा बढी नाटकको निर्देशन गरिसकेका छन्। नाटकमै सुन्दर जिन्दगीको सपना देख्ने घिमिरे ययातिको भूमिकामा खरो उत्रिएका छन्।

पवित्रा खड्का शर्मिष्ठाको भूमिकामा छिन् र देवयानी बनेकी सरस्वती अधिकारीको अभिनयले पनि नाटकलाई आकर्षक बनाएको छ। पुरुकी श्रीमती चित्रलेखाको भूमिकामा अर्चना पन्थीको दमदार अभिनय छ।

नाटक दृश्यभन्दा पनि संवादप्रधान छ। धेरै घटना–परिघटना संवादद्वारा नै सुनाउने र प्रस्ट पार्ने कोसिस गरिएको छ। चित्रलेखाको आत्महत्या र पुरुराजमा बुढ्यौली चढेको घटना भने मार्मिक छ। सबै कलाकारको सफल अभिनय र कलाको मिश्रणले नाटक गतिलो बनेको छ। तर, संवादप्रधान भएकाले बोझिलो लागिरहन्छ।

प्रतिक्रिया दिनुहोस्
सिफारिस