ब्रतमा पनि प्रेम रुझान

शनिबार, १३ माघ २०७४, १४ : १०
      शब्द  
213 पटक पढिएको

खै के भएको हो, बिहानी पनि खुलेको जस्तो देखिन्न आज ! धुम्म छ बिहानी । अब त होली पनि सकिइसक्यो । तापक्रम बढेर गर्मी हुने बेला आइसक्यो । हिजोसम्म त ठिकै थियो तर आज चिसो बेस्सरी बढेको जस्तो छ । बिहान उठ्ने समयमा मोटो ब्ल्याङ्केट तान्दै छु ।
के गर्नु जागिरे मान्छे परियो, काममा जानैपर्छ । आफ्नै व्यवसाय भए पो जान्न भनेर सुख पाउनु ! बिना कारण घरमै बसेर पो के गर्नु छ र ! ब्युँझेर यस्तै नानाथरी कुरा मनमा खेलाउँदै उठेर अफिस जाने तयारीमा लागें । पहिलोपटक उठ्नासाथै मोबाइलमा उनको कल वा टेक्स्ट चेकसम्म नगरी ।
बाथरुममा फ्रेस हुँदै गर्दा पो आद आयो मलाई ! ओहो, आज त फेरि अर्को बिहीबार आइसकेछ ! आज उनको माता बगलामुखीको व्रतको अन्तिम दिन ! उनी विदेशमा रहँदा व्रत बस्न सम्भव हुन्थेन । अर्को बिहीबारसम्ममा त सम्भवतः उनी विदेश पुगिसक्नेछिन् ।
हुन त उनको विदेश फर्कने दिनको टुङ्गो अझै लागिसकेको छैन । उनको कम्पनी नै त्यस्तै छ, जानुभन्दा दुई–तीन दिनअघि मात्र खबर आउँछ, जानु अघिल्लो दिन मात्रै टिकट आउँछ तैपनि आफ्नो छुट्टी सकिन लागेको सामान्य थाहा भइ नै हाल्छ । उनी अर्को बिहीबारसम्ममा यहाँ हुन्छिन्–हुन्नन्, त्यसैले आजको बिहीबारको व्रतलाई नै उनले अन्तिम बनाएकी छन्, यसपटकका लागि ।
हिजोको थकान नै मेटिइसकेको छैन उनको, फेरि आज बिहानै मन्दिर जानुपर्छ भन्ने सोच्दै उनीप्रति मायाको भेल उर्लियो । मानौं कुलेखानी ड्याम फुट्दा बहने पानीको रफ्तारझैं । बाथरुममै बसी मोबाइल चेक गरें, पक्कै उनको कल आएको होला भन्ने सोच्दै ।
उनको कल त आएको रहेनछ आज तर म्यासेज छोडेकी रहिछन् । म बुबासँग मन्दिर जाँदै छु आज, फर्केर आएपछि हजुरलाई कल गर्छु भनेर । सधैंजसो एक्लै मन्दिर जाने गरेकी उनी, आज भने बुवालाई लिएर गएकी रहिछन् ।
आज विशेष के परेछ कुन्नि, मन्दिरमा एकदमै ठूलो भीड रहेछ । हुन त हरेक सोमबार पशुपतिनाथको मन्दिर, मङ्गलबार गणेश मन्दिर, बिहीबार बगलामुखी माताको मन्दिर तथा शनिबार शनि वा भैरवको मन्दिरमा निकै भीडभाड नै रहन्छ । उनले अन्य बिहीबारमा यति ठूलो लाइन कहिलै बस्नुपरेको थिएन रे ! अनि त्यही लामो लाइनकै कारण समयमै घर फर्किन सकिनँ भन्दै ११ बजेतिर बल्ल कल गरिन् मलाई । त्यतिबेला म अफिस पुगेर चिया पिइसकेर सहकर्मीहरुसँग मिटिङमा थिएँ ।
आमाले घरबाट तुरुन्तै निस्कन दिन मान्नुभएनछ । आमाको माया भनेकै त्यही त हो, आफूभन्दा धेरै आफ्ना छोराछोरी र परिवारको चिन्ता ! घर आएर केही समय रेस्ट गरी सामान्य फलफूललगायत खानेकुरा खाएर निस्कनुपर्ने भएपछि उनले आजका लागि हाम्रो भेटको समय एक बजे तय गरिन् ।
हाम्रो भेट भएको दिनदेखि वा हाम्रो मिलन भएदेखि पहिलोपटक भेटेको भोलिपल्ट र दोस्रोपटक हिजो मात्र हो, हाम्ले एक–अर्कालाई नदेखेको । हिजो दिनभर हामीले महसुस गर्न पाएनौ“ हाम्रो आँखामा बसेको मायाको गहिराइ प्रत्यक्ष रुपमा र साट्न पाएनौ“ प्रेमिल तरङ्गहरु । त्यसैले आतुर थियौ“ दुवै जना भेट्न आज । मभन्दा पनि उनी नै हतारिएकी थिइ आज भेट्न । हिजो सँगै बाहिर बस्ने योजना बन्दाबन्दै पनि भेट्नसम्म नपाएकोमा उनी चिन्तित थिइन् । सायद माफी माग्न चाहन्थिन् ।
बिहानैको म्यासेजमा उनले त्यसको छनक पाइने शब्दहरु व्यक्त गरेकी थिइन् । हिजोको कुरामा आफू अझै पनि चिन्तित र विचलित रहेको भन्दै अघि फोनमा समेत रुन्चे बोली बनाएकी थिइन् । म भने चिन्ता नगर्न र भेटेरै सबै कुरा गर्ने भन्दै थिएँ । उनी घर फर्कनासाथैको वार्तालापसम्ममा हामी बिहान १२ बजे भेट्ने भएका थियौ“ किनकि उनलाई पनि हतार भएको र मलाई अफिस पनि पुग्नुपर्ने थियो कमसेकम हाजिर गर्न र दिनभरिको कामलाई आवश्यकताअनुसार सहयोगी साथीहरुमा बाँडफाँट गर्न । तर आमाको माया र छोरी बिरामी पर्ली भन्ने चिन्ताले गर्दा केही बेर आराम गरी केही खाएर आउनुपर्ने भएकाले हाम्रो भेटको समय एक बजे पु¥याएकी थिइन् उनले ।
हिजोको घटनाको कारण उत्पन्न भएको हाम्रो व्याकुलतालाई साम्य पार्न निकै अधैर्य बनेका थियौ“ । अनि ती सबै विषयमा कुराकानी त छँदै छ, हामीलाई केही शान्त र एकान्त वातावरण पनि चाहिएको थियो यतिबेला । अघि–पछिभन्दा पनि निकै एकान्त, जहाँ हामी खुलेर एकापसमा प्रेमालाप गर्न सकौ“ । यसका लागि कहाँ जाने र कुन स्थान बढी उपयुक्त होला भन्ने केही कुराकानी भए पनि यहीं जाने भन्ने भइसकेको थिएन ।
मैले पनि ठम्याउनै सकिरहेको थिइनँ । अब उनलाई भेटेर उनीसँगै सल्लाह गरेर मात्रै कहाँ जाने भन्ने निर्णय गरौ“ला भन्दै उनलाई लिन ठीक एक बजे नै पुगें बानेश्वर चोकमा ।
मलाई कुरेर बसिरहेकी उनलाई देख्नासाथै हिजो निकै बिरानो र उराठलाग्दो बनेको बानेश्वर चोक आज आफ्नै घर–आँगनजस्तो लाग्यो, हरियाली र रमणीय ! उनको छेवैमा पुगेर गाडी रोकें । उनी सधैंझैं अगाडिकै सिटमा बसिन्, मसँग टाँस्सिएरै ।
मेरो मुखबाट कुनै शब्द निस्कन सकिरहेको थिएन । रुन्चे हाँसो फिस्स मात्रै ओठले फ्याँक्दै थियो । आँखा पनि केही रसिलो बन्यो । मैले उनलाई राम्ररी हेर्न सकिरहेको थिइनँ तर अनुमान भने लगाउन सक्थें, उनको पनि हालत मेरोभन्दा कुनै कम थिएन । उनी पनि केही नबोली मात्र मेरो हात समातेर मुसार्दै थिइन् आफ्ना कोमल हातहरुले, निकै प्रेममय शैलीमा ।
त्यहाँबाट जाँदै गर्दा मैले बिस्तारै सोधें, ‘कहाँ जाने हामी ?’
‘हजुर जहाँ लानुहुन्छ !’ जवाफमा उनले निकै मधुरो स्वरमा छोटो जवाफ दिइन् ।
मैले उनको बोली र शरीरमा अझै केही थकान महसुस गर्दै थिएँ । हिजो दिनभरिको ¥याफ्टिङ अनि कता–कताको दौडादौड ! आज बिहानैबाट मन्दिरमा लामो समयसम्म उभिएर लाम बसेकी, त्यसमाथि पनि व्रत बसेकी । त्यसैले मलाई टाढा लान मन लागेन । नजिकै कतै कुनै उपयुक्त स्थानमा बसेर कफी पिउने भयौं ।
उपयुक्त स्थान छनोट गर्ने क्रममा कहाँ जाने भन्ने सोचिरहँदा काठमाडौं मलको फुडकोर्टको सम्झना आयो । सोचेजति शान्त वातावरण नभए पनि फुडकोर्टको बाहिर खासै भिडभाड पनि हुन्नथ्यो र बाहिरी सहरको दृश्यावलोकन पनि राम्ररी गर्न सकिन्थ्यो । त्यसैले त्यहीं जाने भयौं ।
काठमाडौं मलको पार्किङमा गाडी राखेर माथिल्लो तलामा रहेको फुडकोर्ट पुग्दासम्म पनि हात समातेरै हिँडेका हामीबीच कुनै कुरा भएन । फुडकोर्टको बाहिर बार्दलीमा रहेको टेबुलमा बसेर कफी अर्डर गरिसकेपछि भने बल्ल उनले कुरा सुरु गरिन् । सुरुवातमै हिजो मलाई त्यत्ति धेरै कुराएर पनि भेट्नसम्म नसकेकोमा उनी निकै लज्जित बन्दै थिइन् । उनको आँखा भरिएर आयो फेरि !
उनी भन्दै थिइन्, ‘अब आइन्दा म हजुरलाई कहिल्यै कुराउने छैन । हजुर जहाँ भन्नुहुन्छ त्यहीं जान्छु, जे भन्नुहुन्छ त्यही मान्छु !’
यति भन्दै उनले आफ्ना ओठ खुम्चाउँदै, गाला राताराता पार्दै झुकेर दुवै हातले कान समाइन् ! मलाई उनको यस्तो व्यवहारले निकै लज्जित बनायो । मैलै उनका दुवै हात जोडले समाउँदै गम्लङ्ग अङ्गालोमा कसें ।
उनलाई आफ्नो अङ्गालोमा कसेरै सम्झाउन थालें, ‘ठीकै छ त, यस्तो हुन्छ कहिलेकाहीं, कहाँ सबै हामीले सोचेको र चाहेको कुरा पूरा हुन्छ त ! यस्ता कुरालाई हामीले स्वाभाविक रुपमा लिनुपर्छ । हिजोको कुराले मलाई कत्ति प्रभाव पारेको छैन, मलाई लज्जित नबनाऊ !’
जसोतसो उनलाई सान्त्वना दिँदै थिएँ तर मलाई मात्र थाहा छ, यो कुराले मलाई कति प्रभाव पारेको छ ! कति औडाहा भएको थियो हिजो मलाई, कति व्यग्र बनेको थिएँ म, कति दुःखी बनेको थिएँ । यो त उनलाई सम्झाउनका लागि मात्र भन्दै छु ।
मैले सम्झाइसकेपछि केही सामान्य बन्दै, केही मुस्कुराउँदै उनी भन्दै थिइन्, ‘मैले हजुरलाई विश्वास नगरेको कदापि पनि होइन । हजुर नै मेरो जीवन हुनुहुन्छ ! म हजुरबिनाको जीवनको कल्पनासम्म पनि गर्न सक्दिनँ तर साथीहरुसँगको केही सङ्कोच, परिवारको मप्रतिको विश्वास नतोड्ने सङ्कल्प अनि यस्तै के–के कुराले हजुरसँगै बस्नबाट रोकेको हो हिजो । म निकै पछुताएँ हिजोको व्यवहारले ! तर अब आफैंमा विश्वस्त छु र सारा जीवन हजुरसँग बिताउनका लागि पूर्ण रुपमा तयार छु ।’
उफ, केही दिनअघि मात्रै सुरु भएको हाम्रो सम्बन्ध यो अवस्थामा पुगिसकेको छ ! तर मैले कतै उनलाई बाध्य पारिराखेको त छैन ? के उनी साँच्चै मलाई पूर्ण रुपमा स्वीकार गर्न भित्री मनदेखि नै तयार भएकी हुन् त ? यस्ता विचारहरु मेरा मनमा खेलिरहे, उनलाई अझ जोडले आफ्नो अङ्गालोमा कस्दै गर्दा । मेरा आँखा पनि रसाउन थाले, सुस्तरी सुस्तरी !
आज हामी दुवैलाई थाहा थियो हाम्रो कुराकानी करिब यस्तै–यस्तै हुनेछ । त्यसैले नै हामी दुवैको इच्छा त कतै टाढा एकान्तमा बस्ने थियो तर एक त उनको हिजो रातिसम्मको यात्रा, त्यसमाथि ¥याफ्टिङको थकाइ र आजको व्रतका कारण मैले नै आज वरिपरि कफी पिउँदै बसौं भनेको थिएँ ।
उनको शरीर बिटुलिएको छैन आजसम्म न त म उनको इच्छाविपरीत बिटुल्याउन नै सक्छु ! उनको मन भने कयौ“पटक पक्कै बिटुल्याएको छु मैले ! त्यसैमाथि व्रतको दिन उनको पवित्र मनलाई पनि बिटुल्याउनु हुँदैन जस्तो लाग्यो मलाई । त्यसैले मन कठोर बनाउँदै एकान्तलापमा नजाने निर्णय गरेको थिएँ ।
अहिले आएर मेरो निर्णय एकदमै सही लाग्यो किनकि आजको हाम्रो बसाइ त्यस्तै ठाउँमा भएको भए कदापि आफ्नो सीमा र बन्देजभित्र मात्र सीमित रहन सक्नेवाला थिएनौं हामी ।
हामी काठमाडौ“ मलको चौथो तलामा रहेको फुडकोर्टको बाहिरको कौसीमा अङ्गालोमा बाँधिएर कफी पिउँदै बसिरह्यौ“ । पहिला–पहिला केही लज्जित बनेकी उनी मेरो विभिन्नखालका उदाहरणसहितको हौसलाले खुल्न थालिन् । हिजो उनको होली खेल्दा तथा ¥याफ्टिङ गर्दाको रमाइलो अनुभव सुनाउन थालिन्, मोबाइलमा कैद गरिएका अनेकन तस्बिरहरु देखाउँदै । म पनि रमाइलो मान्दै उनको हिजोको यात्राको बखान सुन्दै बसें, हिजो दिनभर उनीसँग भेट्न नपाएको पीडालाई मनभित्रै केही लुकाउँदै त केही भुलाउँदै ।
त्यहाँ केही घन्टा हिजो–अस्तिभन्दा भिन्न रुपमा बिताएर हामी निस्कियौं । हुन त उनको घरतर्फ नै निस्केका थियौं तर हामीलाई फेरि हट ब्रेडमा बसेर कफी पिउन मन लाग्यो । केही घन्टा हट ब्रेडमै कफी पिउँदै बस्यौं, मिठा–मिठा मायाका कुरा गर्दै, छमक्क साँझ नपरुञ्जेलसम्म ।
आज उनी अलि थाकेको पनि देखिन्थिन् । तसर्थ हामी नजिकैका ती दुई स्थानमा मात्रै बस्यौं, अन्यन्त्र कतै घुमफिरमा निस्केनौं । हामीलाई हिजो नभेटेको न्यास्रो पूर्ण रुपले मेट्नु थियो । त्यसैले समय र परिस्थितिको ख्याल गरी मिलेसम्मको मायामा डुब्दै त्यही कोसिसमा समय बितायौं हामीले ।
उनलाई बेलुकी सात बजेतिर मात्र उनको घर पु¥याएँ मैले तर उनलाई छोडेको पन्ध्र मिनेटमै, म घर नपुग्दै उनको कल आयो । उनी साथमा रहेको बेला होस् वा नरहेको बेला उनी मलाई गाडी चलाउँदाको बेलामा फोनमा कुरा गर्न पटक्कै दिन्नथिइन् तर आज म गाडी चलाउँदैछु भन्ने जान्दाजान्दै पनि कुरा गर्दै थिइन् उनी ।
त्यही कल झन्डै–झन्डै नकाटीकन नियमित रुपमा कुरा गर्दै दुई घन्टा बित्यो हाम्रो । यसबीच म घर पुगें, फ्रेस भएँ, खानासमेत खान भ्याएँ । खाना खाने बेलाको केही क्षण भने ब्रेकको रुपमा फोन काट्यौं हामीले ।
अघिल्लो दुई घन्टाको कुराकानीले कहाँ पुग्थ्यो र हामीलाई ? खाना खाइसकेपश्चात् पनि फोनमा कुराकानीको निरन्तरता जारी नै रह्यो, अबेर रातसम्म ।
सम्भवतः पहिलोपटक फोनमा यति धेरै कुराकानी भएको थियो । उनले अधिकांश समय हिजो उनले मलाई भेट्नका लागि समय दिन नसकेकोमा लज्जित बनेको र मलाई त्यति धेरै दुःख दिएकोमा नरमाइलो लागेको गुनासो गर्दैमा बिताइन्, कैयौ“पटक दोहो¥याइरहिन् यो विषय उनले ।
अब हामी भोलि कतै अलि पर घुम्न जाने भयौ“ । म उनको इच्छाविपरीत केही भन्दिनथें न यसअघि भनेको थिएँ न त भन्नेवाला नै थिएँ । अहिले पनि परिस्थिति अलि फरक बनेको छ । भोलिका लागि उनी मैले भनेको सम्पूर्ण कुरा मान्न तयार छिन् । कुनै सीमा र बन्देजको ख्याल नगरी भोलि दिनभरिको समय उपयोग गर्ने विषयमा कुरा गर्दागर्दै रात छिप्पिसकेको थियो । हाई काढ्दै फोन बन्द ग¥यौं हामीले ।
फोन बन्द गरी निद्रा देवीको प्रतीक्षामा रहँदै गर्दा म फेरि पनि सोच्दै थिएँ, उनले भन्न त भनिन् तर उनले जे भने पनि मैले उनको भावना र सङ्कल्पबमोजिम नै गर्नुपर्छ कदापि विश्वास तोड्नुहुन्न । यस्तै यस्तै विचार मनमा खेलाउँदै निदाएछु म ।

पुस्तकको यो अंश ‘लभ याट पच्चिसमा’’ नामक उपन्यासबाट लिएका हौँ । अनल गौतमले लेख्नुभएको उक्त उपन्यास पाठकमाझ लोकप्रिय वन्दै गएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सिफारिस