एमाले वरिष्ठ नेता खनाल भन्छन्ः एकफेर पार्टीले दिएको जिम्मेवारी लिन तयार छु

शनिबार, १५ पुष २०७४, १६ : २५
      शब्द  
597 पटक पढिएको

काठमाडौं । नेकपा(एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आफुले अब राजनीतिक वा पार्टीगत जिम्मेवारी एक पटक मात्र लिने घोषणा गरेका छन् । २०३९ सालमै पार्टी महासचिव भएका खनालले प्रधानमन्त्रीको जिम्मेवारी पनि पुरा गरिसकेका छन् । एमाले पार्टी संरचनामा अध्यक्ष प्रणाली अपनाएपछि उनि पहिलो पार्टी अध्यक्ष पनि भइसकेका छन् । पार्टी नेतृत्व र राज्यसत्ताको समेत नेतृत्व गरिसकेका खनाल प्रतिनिधिसभाको निर्वाचनमा भारी मतले विजयी भएपछि डल्लुस्थित उनकै निवासमा बर्तमान राजनीति र सरकार गठनको विषयमा कुराकानी गर्ने अवसर मिलेको थियो ।


उनले कुराकारीका क्रममा उमेर, अनुभव वा क्रियाशीलताका कारण अब आफु राजनीतिक वा पार्टीगत जे जिम्मेवारीमा आएपनि एकफेर मात्र आउने प्रतिक्रिया दिए । खनालले मुस्कुराउँदै भने– ‘जुन ठाँउमा म आइपुगेको छु, जुन उमेरमा म आइपुगेको छु, जुन अनुभवहरु प्राप्त गरेर आइसकेको छु, अबको अवस्थामा मैले जुनसुकै पद अब एकपटक चाँही म लिन तयार नै छु ।’ तर उनले आफ्नो लागि राष्ट्रपति नै उपयुक्त जिम्मेवारी हुनसक्ने संकेत गरे । एमाले र माओवादी केन्द्रको पार्टी एकतामा समस्या नदेख्ने खनालसँग गरिएको समसामयीक कुराकानीलाई यसरी उतारिएको छ:

राष्ट्रपति भनेको सक्रिय राजनीतबाट विश्राम लिने पद हो, फेरी एकफेर प्रधानमन्त्री हुने वा पार्टी अध्यक्ष हुने वा सक्रिय राजनीति गर्ने भन्ने योजना छैन ?
मैले अहिलेसम्म जति पदहरु प्राप्त गरें, सिङ्गो जिन्दगीभरी मैले यो पद प्राप्त गर्छु भनेर आकाँक्षा लिएर हिँडीन । मैले यत्तिकै प्राप्त गर्दै आएको छु । अब पनि मलाई यो पद देउ भनेर म कतै काँही कसैसंग माग गर्दिन । तर पार्टीले दिने जिम्मेवारी जुनसुकै तहको र रुपको भएपनि पुरा गर्नको लागि म आफु सक्षम छु ।’

तपाँइलाई अघिल्लोचोटी पनि राष्ट्रपतिको आकाँक्षीको रुपमा हेरिएको थियो, परिस्थिति अर्कै बन्यो, यसपटक कस्तो आशा राख्नुभएको छ ?
हो, अघिल्लो पटक पनि र अहिलेको पटक पनि मलाई राष्ट्रपतिको रुपमा हेर्न चाहने साथीहरुले मलाई धेरै शुभकामना दिनुभएको छ । उहाँहरुलाई म धन्यवाद दिन चाहन्छु । उहाँहरुको जो इच्छा छ, त्यो इच्छालाई म कदर पनि गर्न चाहन्छु । तर म आफैं यो पद देउ भनेर हिँड्दीन । मलाई मुल्याङ्कन गरेर पार्टीले दिने जिम्मेवारी चाँही म स्विकार गर्न तयार छु ।

वाम एकताको लागि सबै विकल्पहरु खुला गरिनुपर्ने धारणा राख्दै आउनु भएको छ तर एकता हुनेमा आशंका पैदा भएको छ नि ?
दुइवटा वामपन्थीहरुको एकतालाई धर्तिका कुनै शक्तिले पनि रोक्न सक्दैन । वाम एकता नेपालको ऐतिहासिक आवश्यकता हो । त्यो आवश्यकता परिपुर्ती गनै दुइवटै वामहरुले पहल गरिसकेका छन् । एकता प्रक्रिया अगाडि बढिरहेको छ । चुनावी तालमेलले, तालमेलमा भएका सफलताहरुले दुइवटा पार्टीहरुलाई झनै बढी निकटता ल्याएको छ । र, त्यो निकटता समेतलाई ध्यानमा राखेर हामी निकट भविश्यमा दुइवटा पार्टीलाई एकतावद्ध गछौं । एकतामा भाँजो हाल्ने कुनै पनि शक्ति असफल रहनेछन् ।

पार्टी एकतामा अध्यक्ष को बन्ने भन्ने विवाद पनि देखिएको छ, त्यसमाथि तपाईकै पार्टीका महासचिव इश्वर पोखरेलले अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुनुपर्छ भन्ने धारणा सार्वजनीक गर्नुभएको छ, कसरी मिलाउनुहुन्छ ?
दुइ शक्तिशाली पार्टी एकतामा जाने विषयनै सवैभन्दा ठूलो कुरा हो । यसमा खासै विवाद हुन्छ जस्तो लाग्दैन तर त्यस्ता केहि विवाद निस्कीए अध्यक्ष मण्डल निर्माण गर्न सकिन्छ नि । तल तल एकताको अधिवेशन गर्ने केन्द्रमा अध्यक्ष मण्डलबाट सञ्चालन गर्ने अनि एकताको पहिलो महाधिवेशनपछि जो नेतृत्वमा आँउछ, उसैलाई स्किाकार्ने पनि विकल्प हुनसक्छ । कतिपय कुरा सहमति र कतिपय प्रक्रियागत हिसावले मिलाउनु पर्छ । यसलाई दुवै पार्टीले स्विकानुपर्छ । अर्को कुरा व्यक्तिगत रुपमा कसले, कहाँ के बोल्छ त्यो आधिकारीक र निर्णायक हुँदैन । हाम्रो पार्टीका कमिटीहरु बसेर, स्थायी समिति बसेर छलफल गरेर कुनै निर्णय अहिलेसम्म भएको छैन । हामी यसमा खुला छौं । नेकपा माओवादी केन्द्रसंग पनि हाम्रा छलफलहरु चलिरहेकै छन् । हामीले पार्टीभित्र पनि छलफल गरिरहेका छौं । खुला छलफल गरेर एउटा टुङ्गोमा पुग्छौं, त्यसमा कुनै समस्या आँउछ भन्ने मलाई लाग्दैन । कतिपय संक्रमणकालिन प्रक्रियाहरुलाई पनि हामीले अपनाउनुपर्ने हुन्छ ।


ठूला पार्टी एकतामा अध्यक्ष मात्रै होइन पावर सेयरिङको कुरा पनि होला यस्तो अवस्थामा कसरी संक्रमणकालिन प्रक्रिया अपनाउनु हुन्छ ?
संक्रमणकालिन प्रक्रियामा अनेकताभित्र एकता र संगठनका आफ्नै रुपहरु हुनसक्छन् । तिनिहरुलाई प्रयोग गर्दै हामीले पार्टीलाई एकताको महाधिवेशनतर्फ अगाडि बढाउनुपर्छ । दुबै पार्टीका बीचमा पावर सेयरीङ हुनै पर्छ र त्यो हुन्छ पनि । त्यसो गर्नका लागि दुबै पार्टीले कतिपय कुरामा आलोपालो गर्नुपर्ने हुन्छ । कतिपय कुराहरुमा नीति र सिद्धान्तको आधारमा अगाडि बढ्नुपर्ने हुन्छ । कतिपय कुराहरुमा प्रक्रिया मार्फत जानुपर्ने हुन्छ । हामीले त्यसमा उपायाहरु निकाल्छौं । तरिकाहरु निकाल्छौं । अहिले मिडियामा धेरै बहश गरेर भन्दा पनि सम्वन्धीत दुईवटा पार्टीको नेतृत्व पंतिको बीचमा छलफल गरेर यसमा समाधानहरु निकाल्न सकिन्छ ।

पार्टी एकतामा तपाईंहरु(एमाले) माओवादीलाई पार्टी अध्यक्ष छोड्न तयार हुनुहुन्छ त ?
नेकपा एमाले दुईवटा पार्टीको एकतालाई अगाडि बढाउनका लागि कुनै पनि पक्षमा, कुनै पनि बिन्दुमा, कुनै पनि सवालमा हामी लचिलो भएर अगाडि बढ्न तयार छ । यो दुइवटै पार्टी एकतावद्ध गर्ने कुराहरुमा हामी क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई जुनसुकै मूल्यमा अवलम्वन गर्न तयार छौं । हामि यसमा उपयुक्त ढंगले जिम्मेवारी बाँडफाँड गर्न सक्छौं । त्यो बाँडफाँट गरेर दुबैलाई सहमत हुने ढंगले एउटा समझदारी निर्माण गरेर अगाडि बढ्न सक्छौं ।


निर्वाचनको परिणामसँगै जितेर आएकाहरुले सपथ ग्रहण गर्न पाएका छैनन्, काम सुरु भएको छैन, यो विषय कहिले टुङ्गो लाग्छ ?
महानिर्वाचनका जो परिणमहरु हुन् ति आइसकेका छन् । प्रतिनिनिसभाको परिणम हामीले सुनिसकेका छौं । प्रत्यक्षको परिणाम आइसकेको छ । समानुपातिकको परणम पनि आएको छ । बाँकी के मात्रै रहेको छ भने निर्वाचन आगोयद्धारा यो सम्पूर्ण निर्वाचनको परिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी छ । त्यो घोषणा हुने वित्तिकै राजनीतिक प्रक्रियाहरु नयाँ ढंगले अगाडि बढ्छ । तदअनदुरुप नै हामीले सपथ लिने, नयाँ संसदको आव्हान हुने आदि प्रक्रियाहरु पनि सुरुवात हुन्छन् ।

एमालेले राष्ट्रिय सभा सम्वन्धी अध्यादेशमामा अड्डी लिएका कारण केहि विवाद पनि देखियो, अव कहिलेसम्म नयाँ सरकार गठन भइसक्छ ?
हामी संविधानका मर्म र भावना अनुरुप अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौं । यो संविधानमा राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणिय पद्दतिका आधारमा हुनुपर्छ भनेर काँही पनि लेखिएको छैन । बरु पहिलेका संविधानमा यस्ता कुराहरु थिए । अहिलेका संविधानमा त्यो कुराहरु हटेका छन् । त्यसो हुनाले सरकारले प्रस्तुत गरेको जुन अध्यादेश छ, त्यो संविधानको मर्म र भावना अनुरुप थिएन । त्यसलाई सच्याइनुपछ र सरकार गठनको प्रक्रिया अघि बढेपछि नयाँ सरकारले नै अध्यादेश पनि ल्याउन सक्छ भन्ने हो । अव त्यो अध्यादेश पारित भइसकेको अवस्थामा अरु कुरा गर्नु त्यति सान्र्दभिक हुदैन भन्ने लाग्छ । अर्को कुरा प्रतिनिधी सभाको निर्वाचन भइसकेपछि सरकार निर्माणको प्रक्रिया अगाडि बढ्नुपर्छ र यो महिनाभित्र सबै प्रक्रियाहरु अगाडि बढ्छन् ।


अन्त्यमा, पार्टी उपाध्यक्ष वामदेव गौतमले चुनाव हार्नुमा घातअन्र्तघातको कुरा जोडसँग उठिरहेको छ, उहाँको विषयमा कस्तो समिक्षा हुँदैछ ?

वामदेव कमरेडले चुनाव हार्नुभयो भन्ने सुन्दा म आफैं आश्चर्यचकित भएँ । उहाँले चुनाव हार्दा निक्कै दुःख लागेको छ । जुन क्षेत्रमा ३०–४० हजार भन्दा बढी मतले हामी अगाडि छौं स्थानीय निकायको निर्वाचनमा, त्यो क्षेत्रमा उहाँले हार्नुभयो भन्दा मैले त्यसलाई राम्रोसँग पचाउन सकिन । त्यो सन्दर्भमा पार्टीले गभिर रुपले छानविन गर्नुपर्छ । के कारणले गर्दा उहाँले हार्नुभयो भन्ने कुराको बारेमा राम्रो जाँच पडताल गर्नुपर्छ । र, त्यसबारेमा जे भएको छ त्यसको यर्थाथ जानकारी लिएर आवश्यक कारवाही पनि पार्टीेले अगाडि बढाउनुपर्छ । उहाँलाई उपयुक्त भूमिका दिने विषयमा  के गर्ने भन्ने बारेमा हामी सबै गम्भिरतापुर्वक सोचिरेहका छौं । उहाँ एउटा सक्रिय मान्छे, देश पार्टीमा योगदान दिने सक्रिय नेता हो । उहाँलाई कुनै न कुनै रुपमा सक्रियतापूर्वक अगाडि बढ्न सक्ने अवस्था सिर्जना गर्न हामी सबैले सोचेका छौं । यस विषयमा पार्टीभित्र पनि छलफल सुरु भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सिफारिस