युवाले किन र कस्लाई भोट हाल्ने ?

मङ्गलबार, ०५ मङि्सर २०७४, १७ : २७
उमेश चौहान
      शब्द  
777 पटक पढिएको
उमेश चौहान

देशमा अहिले जनसंख्याको ४० प्रतिशत वा एक करोड १३ लाखभन्द बढी युवा छन् । सबैभन्दा उर्जाशील यो समूह नै सबैभन्दा निराश छ, यो नै देशको दुःखद वास्तविकता हो । चोकचौतरा, चियापसल र सामाजिक सन्जालमा निराशा पोख्ने यो समूह राजनीतिप्रति निरपेक्षरुपले नकारात्मक छ । राजनीतिले के दियो भनेर आक्रोशित हुने यो समूह राजनीति फोहोरी खेल हो भनेर आफू किनारा मात्र लाग्दैन, राजनीतिमा सक्रिय युवालाई हेयको दृष्टिले हेर्न समेतपछि पर्दैन । तर जबसम्म युवा पंक्तिले राजनीतिलाई देशको अनिवार्य पद्धति र मतदानलाई आफ्नो असाधारण जिम्मेवारी सम्झदैन, तबसम्म त्यस्ता युवाको भविष्यको जिम्मेवारी पनि राजनीतिले बोक्न सक्नेछैन ।

राजनीतिले के दियो ? सबै नेता उस्तै हुन्, जसलाई भोट दिए केही फरक पर्दैन भन्ने युवाले सोच्नैपर्ने विषय के हो भने उसलाई यति निराश बनाउने शास्त्र के हो ? अमेरिका, युरोप वा पुर्वी एशियाका युवाले असल शिक्षा, न्यायीक रोजगारी, स्तरीय स्वास्थ्य सेवा र सुरक्षित भविष्य कुन विधिका आधारमा पाए ? अथवा दक्षिण एशिया, मध्यपूर्व र पश्चिम अफ्रिकाका युवाले शिक्षा, रोजगार, स्वास्थ्य सेवा केही पनि नपाएर अन्धकार भविष्यको सामना गर्नुपर्ने कारण के हो ? अत्यन्तै सामान्य कुरा के हो जनताको भविष्य तय गर्ने पहिलो र अन्तिम साध्य नै राजनीति हो ।

कुनै पनि देश प्रजातान्त्रिक नेताले चलाउन सक्छ, तानाशाहले शासन गर्न सक्छ, देशलाई विकासको पथमा अघि बढाउन सक्छ, भ्रष्टाचारको दलदलमा फसाउन सक्छ । नेताको सहि वा खराब कदमले हाम्रो शिक्षा, हाम्रो रोजिरोटी, हाम्रो स्वास्थ्य र हाम्रो भविष्य उज्जवल हुन पनि सक्छ, अन्धकार पनि धकेलिन पनि सक्छ । त्यसैले राजनीतिमा कस्ता मान्छे आउँछन् र कस्ता मान्छे अघि बढ्छन् भन्ने विषयमा युवाले चेतनापूर्वक अवलोकन गर्नैपर्दछ । कुनै पनि युवाले राजनीतिलाई निषेध गर्न सक्दैन, तर असललाई माथि पठाएर खराबलाई तलै रोक्न सक्छ । मतदानजस्तो शक्तिशाली अस्त्रलाई उपयोग गर्न नसक्ने हो जनतलाई बलियो बनाउने उपाय अहिलेसम्म आविष्कार भएको छैन ।

संसारमा कुनै पनि देशको बजेट आफै बन्दैन, राजनीतिक पद्धतिले बनाउँछ । शिक्षा र स्वास्थ्यका लागि कति खर्च गर्ने भनेर राजनीतिले तय गर्दछ । रोजगारीको लागि कस्तो नीति बनाउने भनेर पनि तय गर्ने संयन्त्र राजनीीत नै हो । हाम्रा ३५ लाख युवा दाजुभाइ खाडी र मलेशियामा किन छन् ? पढेलेखेका युवाहरु किन युरोप अमेरिका हुत्तिएका छन् ? के युरोप अमेरिकामा राजनीति हुँदैन ? के त्यहाँ राजनीतिक दल र नेता हुँदैनन् । अवश्य छन् । राजनीति त्यहाँ पनि हुन्छ, दल र नेता त्यहाँ पनि हुन्छन् । फरक के भने त्यहाँ मतदाताले कुनै नेता विशेषलाई माथि उठाउनका लागि होइन आफ्नो अवस्था सुधार्न मत दिन्छन् । जहाँका जनताले असल नेतृत्व चयन गर्न सक्छन्, तिनको उन्नति भएको छ । हाम्रो युवा पंक्ति उन्नत देश खोज्दै गएको छ तर उन्नत संस्कृति ल्याउन अझै पनि असफल छ ।

महात्मा गान्धीले पनि राजनीतिलाई वेवास्ता गरेको भए भारतको स्वतन्त्रता साँच्चै चुनौतीपूर्ण थियो । लि क्वान युले सिंगापुरमा र डा. महाथिररले पनि मलेशियामा राजनीति नै गरेका हुन् । सबै राजनीतिज्ञ उस्तै हुन् भनेर मतदाताले लि क्वान र महाथिरको सट्टा अरुलाई मतदानन गर्न सक्थे, तर मतदाताको त्यो निर्णयले आजको सिंगापुर वा मलेशिया बन्ने यात्रामा तुषारापात हुन्थ्यो ।

त्यसैले मतदान गर्नु भनेको एक छिन वा एक दिनको खेल होइन । एउटा युगलाई कस्तो बनाउने भन्ने जनताले प्रयोग गर्ने ब्रम्हास्त्र हो । आफ्नो बम्हास्त्र खेर फालेर आफै कुण्ठित हने समय अब हामीसँग छैन । हामीले सोचेर हुने होइन भन्ने हो भने हामीपछिको पुस्ताले पनि यही अवस्था भोग्नुपर्नेछ । एक छिन गम्भीर भएर, एक दिन समय लिएर देशका लागि एउटा नेता छान्न नसक्ने हो भने देशले के दियो भनर प्रश्न गर्नु आफनै विवेकमाथिको मजाक हुनेछ ।
लेखक नयाँ पत्रिका दैनिकका कार्यकारी सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
सिफारिस